काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनता, निरंकुशताविरुद्धको संघर्ष तथा वैदेशिक दबाब र हस्तक्षेपको प्रतिरोधका लागि वामपन्थी र देशभक्त शक्तिबीचको सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने बताएका छन्।
मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले मिलेर अघि बढ्दा मात्रै राजनीतिक उद्देश्यमा सफलता हासिल गर्न सकिने धारणा व्यक्त गरे।
उनले तत्काल पार्टी एकता गर्ने प्रस्ताव आफूले नराखेको स्पष्ट पार्दै कार्यगत एकताका लागि भने समय खेर फाल्न नहुने बताए।
प्रचण्डले भने, “राष्ट्रिय स्वाधीनताको पक्षमा, निरंकुशताका विरुद्ध र वैदेशिक दबाब तथा हस्तक्षेपविरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्त शक्तिहरू एक हुनुपर्छ। यसलाई ढिला गर्नु गल्ती हुन्छ।”
उनले विचार मिल्ने राजनीतिक शक्तिहरूबीच सहकार्य र एकतामा अनावश्यक ढिलाइ गर्नु दुर्भाग्यपूर्ण हुने टिप्पणी गरे। केही नेताहरूले आफूले तत्काल पार्टी एकताको प्रस्ताव गरेको भनेर बुझेको उल्लेख गर्दै उनले त्यसमा स्पष्टता दिन खोजेका हुन्।
“मैले आजै वा भोलि नै पार्टी एकता गरौँ भनेको छैन,” उनले भने, “मैले भनेको यति हो कि सहकार्य आजै सम्भव छ भने आजै गरौँ, भरे सम्भव छ भने भरे नै गरौँ र भोलि सम्भव छ भने भोलि नै गरौँ।”
प्रचण्डले वर्तमान सरकार संविधानका आधारभूत मान्यता र व्यवस्थामाथि प्रहार गर्नतर्फ उन्मुख भएको आरोप पनि लगाए। उनका अनुसार सरकार उत्पीडित समुदायमाथि प्रहार गर्न उद्यत देखिएको छ र यसको मूल लक्ष्य कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने रहेको छ।
“सरकार संविधानका आधारभूत विषयमा प्रहार गर्ने र उत्पीडित समुदायमाथि आक्रमण गर्न उद्धत देखिँदै गएको छ। यसको मूल लक्ष्य कम्युनिस्ट आन्दोलनलाई कसरी समाप्त गर्ने भन्नेमा केन्द्रित छ,” उनले भने।



















