काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सुकुमवासी समस्याको समाधान डोजर चलाएर सम्भव नहुने बताएका छन्। उनले क्रान्तिकारी भूमि सुधारमार्फत मात्रै वास्तविक भूमिहीन र गरिब किसानको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिने धारणा व्यक्त गरे।
मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै खनालले सुकुमवासीको नाममा समाजमा ‘डोजर आतंक’ सिर्जना गरिएको टिप्पणी गरे।
उनले भने, “सुकुमवासीको नाममा जुन प्रकारको डोजर आतंक समाजमा सिर्जना गरिएको छ, त्यसरी यो समस्या समाधान हुँदैन। क्रान्तिकारी भूमि सुधारबिना वास्तविक भूमिहीन र गरिब किसान सुकुमवासीको समस्या समाधान हुन सक्दैन।”
खनालले सुकुमवासी समस्या जटिल सामाजिक र आर्थिक विषय भएकाले त्यसलाई बल प्रयोग वा संरचना हटाउने कार्यबाट समाधान गर्न नसकिने बताए। उनले भूमि सुधार, व्यवस्थित पुनर्स्थापना र वास्तविक भूमिहीनको पहिचानमार्फत मात्रै दिगो समाधान सम्भव हुने उल्लेख गरे।
उनले आफूहरूले लामो समयदेखि सुकुमवासी समस्याको समाधानका लागि वैज्ञानिक र न्यायपूर्ण भूमि व्यवस्थापनको आवश्यकता औँल्याउँदै आएको पनि बताए।



















