काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान परिस्थितिमा समाजवाद निर्माणभन्दा पनि ‘प्रतिगमन’ पराजित गर्नु प्रमुख चुनौती रहेको बताएका छन्। उनले प्रतिगमनविरुद्ध सबै लोकतान्त्रिक र वामपन्थी शक्तिबीच कार्यगत एकता आवश्यक रहेको धारणा व्यक्त गरे।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतबार राष्ट्रियसभा गृहमा आयोजना गरेको ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले प्रतिगमनलाई हराउन लोकतान्त्रिक र वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने बताए।
उनले भने, “आजको मुख्य कार्य समाजवाद कसरी निर्माण गर्ने भन्नेभन्दा पनि प्रतिगमनलाई पराजित गर्नु हो। त्यसका लागि सबै लोकतान्त्रिक र वामपन्थी शक्तिहरू कार्यगत एकताको माध्यमबाट अघि बढ्नुपर्छ।”
अध्यक्ष ओलीले कम्युनिस्ट शक्तिको चरित्र हत्या गर्ने प्रयास भइरहेको आरोप लगाउँदै नेकपा एमालेका नीति सही रहेको दाबी गरे। उनले पार्टी एकता वा एकीकरणका लागि आफ्ना नीतिमा पुनर्विचार गर्नुपर्ने अवस्था नरहेको बताए।
उनले जनताको बहुदलीय जनवाद (जबज) लाई समयसापेक्ष र समसामयिक ढंगले अघि बढाउँदै एमालेले आफ्नो राजनीतिक यात्रा जारी राखेको पनि उल्लेख गरे।
भदौ २३ र २४ गते भएको आन्दोलनलाई प्रतिगामी षड्यन्त्रको संज्ञा दिँदै ओलीले त्यसले वैधानिक सरकारलाई असंवैधानिक ढंगले विस्थापित गरेको आरोप लगाए। उनका अनुसार लोकतन्त्रको नाममा संसद् विघटन गरेर वैधानिक सरकार हटाई असंवैधानिक सरकार गठन गर्नु लोकतान्त्रिक अभ्यास हुन सक्दैन।
उनले आफ्नो नेतृत्वको सरकारले जनता असन्तुष्ट हुने गरी कुनै खराब काम नगरेको दाबी गर्दै केही कमजोरी भए आत्मसमीक्षा गर्न तयार रहेको बताए। तर देश बर्बाद पारेको भन्ने भाष्य गलत रहेको र झुटा अफवाह फैलाएर आफूहरूलाई बदनाम गर्न खोजिएको उनको भनाइ थियो।
ओलीले प्रतिगमनलाई वैधता दिन हतारमा निर्वाचन गराइएको आरोपसमेत लगाए। साथै, प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई झुट, तथ्यहीन र राष्ट्रविरोधी टिप्पणीको संज्ञा दिए।
उनले सुकुम्बासी व्यवस्थापन, ट्रेड युनियन खारेजीको प्रयास र संसद् अवरुद्ध गरेर अध्यादेश ल्याइएका विषय उठाउँदै वर्तमान सरकार संविधानविपरीत ढंगले बनेको र सञ्चालन भइरहेको आरोप लगाए।
“यो प्रतिगमनलाई रोक्न लोकतान्त्रिक र वामपन्थी शक्तिहरू मिल्नुपर्छ,” उनले भने।




















