इटहरी । जिल्ला प्रहरी कार्यालय सिरहामा हाजिर हुन जाँदै गरेका नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालुकुमार यादवको सुनसरीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनामा उनकी पत्नी रामपरी यादव घाइते भएकी छन्।
मंगलबार दिउँसो करिब १२ बजे बर्जु गाउँपालिका–६ स्थित नरह चोकमा प्रदेश १–०२–००२ च ६२५२ नम्बरको विद्युतीय कार र प्रदेश १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक लालुकुमार यादवलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो। उपचारकै क्रममा दिउँसो ४ः१६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मोटरसाइकलको पछाडि सवार उनकी पत्नी रामपरी यादवको दाहिने खुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
सप्तरीको विष्णुपुर गाउँपालिका–१ निवासी यादव हालै सईबाट वरिष्ठ सईमा बढुवा भई जिल्ला प्रहरी कार्यालय सिरहामा सरुवा भएका थिए। नयाँ कार्यस्थलमा हाजिर हुन जाने क्रममा उनी दुर्घटनामा परेका हुन्।
दुर्घटनामा संलग्न कार मोरङको कटहरी गाउँपालिका–३ निवासी रेडियोलोजिस्ट डा. राजेन्द्र चौधरीले चलाएका थिए। उनी नेपाल मेडिकल एसोसिएसन विराटनगर शाखाका अध्यक्षसमेत हुन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनापछि मोटरसाइकलमा आगलागीसमेत भएको थियो। दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान जारी रहेको बताइएको छ।




















