काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सका कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत मुकेश कुमार कपुरले पदबाट राजीनामा दिएका छन्।
कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेको एक सातामै उनले पदबाट अलग हुने निर्णय गरेका हुन्। कपुर विगत पाँच वर्षदेखि उक्त कम्पनीमा कार्यरत थिए। उनलाई असार २ गते कामु सीईओको जिम्मेवारी दिइएको थियो।
कम्पनीका अनुसार कपुरले सोमबार कामु सीईओ पदबाट राजीनामा दिएका हुन्। उनको राजीनामाको कारण भने सार्वजनिक गरिएको छैन।
यसअघि कम्पनीकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएपछि कम्पनीले कपुरलाई कामु सीईओको जिम्मेवारी दिएको थियो। तर जिम्मेवारी सम्हालेको छोटो समयमै उनले पद त्याग गरेका छन्।




















