काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव रहेको जनाएको छ। कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव सक्रिय छ भने देशका अन्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको असर रहेको छ।
महाशाखाका अनुसार अहिले कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली भएको छ । मधेस र बागमती प्रदेशको तराई क्षेत्रमा आंशिक बादल लागेको छ भने लुम्बिनी र कर्णाली प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । यतिबेला कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशका हिमाली र पहाडी क्षेत्रका साथै कोशी प्रदेशको तराई भूभागमा साधारणतया बादल लाग्नेछ । मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर चल्ने सम्भावना छ।
कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपात हुनसक्ने अनुमान छ । तराई क्षेत्रतर्फ कोशी प्रदेशका थोरै स्थान र मधेस प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
यसैगरी, आज राति मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना छ ।




















