काठमाडौँ । जारी विश्वकप फुटबल प्रतियोगितामा एसियाली राष्ट्र दक्षिण कोरियाले प्रभावशाली प्रदर्शन गर्दै विजयी सुरुआत गरेको छ।
शुक्रबार बिहान मेक्सिकोको ग्वाडालजारा रंगशालामा सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रलाई २–१ गोलले पराजित गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरेका थिए। खेलको ५९औँ मिनेटमा लाकेर जिकीले गोल गर्दै चेक गणतन्त्रलाई अग्रता दिलाएका थिए।
तर त्यसपछि दक्षिण कोरियाले उत्कृष्ट पुनरागमन गर्यो। खेलको ६७औँ मिनेटमा ह्वाङ इन–बियोमले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि ८०औँ मिनेटमा ओ ह्योन–गाउले निर्णायक गोल गर्दै दक्षिण कोरियालाई २–१ को जित दिलाए।
दुवै टोलीले पहिलो हाफमा रक्षात्मक रणनीति अपनाएका कारण गोल हुन सकेन। दक्षिण कोरियाका कप्तान सन ह्युङ–मिनले केही आकर्षक अवसर सिर्जना गरे पनि गोल गर्न भने सफल भएनन्।
यसअघि समूहको पहिलो खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलले हराउँदै सुखद सुरुआत गरेको थियो।
यस जितसँगै दक्षिण कोरियाले समूह चरणमा महत्वपूर्ण तीन अंक जोडेको छ भने चेक गणतन्त्र पहिलो खेलमै पराजित भएको छ।




















