काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली एसियाली खेलकुद छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
आइतबार सिंगापुरस्थित सिंगा ओभल मैदानमा सम्पन्न सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले पराजित गर्दै नेपालले उपाधिनजिकको यात्रा तय गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको ओमान नेपाली बलरहरूको दबाबमा टिक्न नसक्दा १९.४ ओभरमा ९४ रनमै समेटियो। ओमानका कप्तान सुफ्यन महमुदले सर्वाधिक ३८ रन बनाए भने जुबाइर अली अकबरले २२ तथा अब्दुलजलिल खानले १६ रन जोडे।
नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे भने साहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए।
९५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ९.२ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। लोकेश बम २६ बलमा ७ चौका र १ छक्कासहित ४४ रनमा अविजित रहे। कुशल भुर्तेलले २० रन बनाउँदा कप्तान रोहित पौडेल २१ रनमा नटआउट रहे।
अब नेपालले सोमबार हुने हङकङ र मलेसियाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरेसँगै नेपाल एसियाली खेलकुदका लागि छनोट भइसकेको छ। नेपालसहित सेमिफाइनलमा पुगेका चारै टोलीले आगामी एसियाली खेलकुदमा सहभागिता सुनिश्चित गरेका छन्।




















