काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) को मुख्यालयस्थित एमटी शाखा (सवारी व्यवस्थापन शाखा) मा भएको आगलागी घटनाको छानबिन गर्न समिति गठन गरिएको छ।
सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) सन्दीप थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको जनाएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टका अनुसार समितिले घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ।
‘घटनाको यथार्थ कारण पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ। समितिले काम थालिसकेको छ,’ प्रवक्ता भट्टले बताएका छन्।
समितिलाई प्रतिवेदन बुझाउन कुनै निश्चित समयसीमा तोकिएको छैन। यद्यपि, सकेसम्म चाँडो अनुसन्धान सम्पन्न गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको सशस्त्र प्रहरीले जनाएको छ।
बुधबार राति करिब ८ बजे सशस्त्र प्रहरी मुख्यालय परिसरभित्र रहेको सवारी शाखामा आगलागी भएको थियो। आगलागीबाट केही सवारीसाधनमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
बंगलामुखी गणबाट खटिएको सुरक्षाकर्मीको टोलीले आगो नियन्त्रणमा लिएको थियो।
सशस्त्र प्रहरी मुख्यालयमा यसअघि पनि आगलागीका घटना भएका छन्। साथै, सतुंगलस्थित सशस्त्र प्रहरीको स्टोरमा समेत विगतमा आगलागी भएको थियो।




















