काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२६ को सेमिफाइनलमा साविक विजेता बंगलादेशसँग पराजित हुँदै नेपालले आफ्नो यात्रा समाप्त गरेकाे छ ।
भारतको गोवास्थित जवारलाल नेहरु स्टेडियममा भएको खेलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको हो। पहिलो हाफ १-१ बराबरीमा सकिँदा दोस्रो हाफमा थप गरिएको ६ मिनेटको समयको तेस्रो मिनेटमा बंगलादेशकी सागोरिकाले गोल गर्दै साविक विजेता बंगलादेश फाइनल प्रवेश गरेको हो।
पहिलो हाफको ४०औं मिनेटसम्म दबदबा बनाएको नेपालले खेलको पहिलो हाफमा थप गरिएको पहिलो मिनेटमा गोल बेहोर्यो। २३औं मिनेटमा गीता राना मगरले गोल गर्दै अग्रता बनाएको नेपालले अग्रता जोगाउन सकेन। पहिलो हाफको थप गरिएको पहिलो मिनेटमा बंगलादेशकी फर्वाड रितु पोर्ना चक्माले कर्नरबाट दोस्रो बारमा च्याप्दै उत्कृष्ट गोलमार्फत बंगलादेशलाई खेलमा फर्काइन्।
खेलको दोस्रो मिनेटबाट नै नेपालले बंगलादेशलाई दबाब दिन थालेको थियो। रेखा पौडेलले वान बाइ वानको स्थितीमा कम्पोज फिनिस गर्न सकिनन्। तेस्रो मिनेटमा रश्मि कुमारी घिसिङको प्रहार किपरको हातमा पर्यो।
खेलको १८औं मिनेटमा प्रिती राईले हानेको हाइ बल किपरको हातमा पर्यो। खेलको २२औं मिनेटको अन्तिम सेकेन्डमा नेपालले कर्नर पायो। दिपा शाहीको कर्नरमा अनमार्क रहेकी गीता राना मगरले उत्कृष्ट फिनिस गरिन्। २३औं मिनेटमा गीताको गोलमार्फत अग्रता बनाएको नेपालले पहिलो हाफको ४०औं मिनेटसम्म नेपालले एकतर्फी अग्रता बनाएको थियो।
तोहिरा खातुन र साम सुनाहारलाई परिवर्तन गरेपछि नेपालको मोमेन्टम बंगलादेशको पक्षमा आयो। खेलको ४४ औं मिनेटमा रितु पोर्ना चक्मालाई सरु लिम्बुले फाउल गर्दा बंगलादेशले डि बक्स अगाडी फ्रि किक पाएको थियो। उक्त फ्रि किक डिफेन्ड गर्दै बाहिर पठाउँदा बंगालदेशले पहिलो हाफको अन्तिम समयमा कर्नर जितेको थियो।
पहिलो हाफको थप गरिएको पहिलो मिनेटमा रितु पोर्ना चक्माले कर्नरबाट सिधै गोल गर्दै साविक विजेताको फाइनल यात्रा कायमै राखेकी हुन्।
खेलको ४८ औं मिनेटमा रेखा पौडेलले पुनः वान बाई वानमा गोल गर्न सकिनन्। ५१औं मिनेटमा रश्मि घिसिङको प्रहार पोष्ट माथिबाट बाहिरियो। खेलको ६९औं मिनेटमा सरु लिम्बुको प्रहार पोष्ट माथिबाट बाहिरियो।
पहिलो र दोस्रो हाफमा पनि निकै मौका बनाएको नेपालको फिनिसिङमा समस्या देखियो। नियमित समयमा थप गरिएको ६ मिनेटको तेस्रो मिनेटमा बंगलादेशकी युवा खेलाडी सागोरिकाले गोल गर्दै बंगलादेशलाई फाइनलतर्फ डोर्याइन्।
बंगलादेशले आज हुने दोस्रो सेमिफाइनलको विजेतासँग शनिबार फाइनल खेल्नेछ। दोस्रो सेमिफाइनल भुटान र भारतबीच हुनेछ।




















