विराटनगर । दमकस्थित रतुवा खोलाको पुलमुनि मृत अवस्थामा फेला परेकी रमा तिवारीको हत्यामा उनकै प्रेमीको संलग्नता रहेको खुलेको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ। पक्राउपछि प्रारम्भिक अनुसन्धानबाट रमा हत्यामा प्रेमीको संलग्नता रहेको तथ्य बाहिर आएको प्रहरीले जनाएको छ।
दुई दिनअघि रतुवा खोलाको पुलमुनि बोराभित्र राखिएको अवस्थामा रमाको शव फेला परेको थियो। घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीको भनाइ छ।
प्रहरीले पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक नगरे पनि उनी र रमाबीच प्रेम सम्बन्ध रहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार पक्राउ परेका युवक केही समयदेखि रमासँग सम्पर्कमा थिए। उनी लागूऔषध प्रयोगकर्ता रहेको र दमकस्थित एक सुधार केन्द्रमा बस्दै आएका थिए।
ती युवक जेठ १३ गते सुधार केन्द्रबाट बाहिरिएको र त्यसपछि रमा तिवारीको हत्या भएको अनुसन्धानबाट खुलेको छ।
हत्या कसरी गरियो, शव रतुवा खोलासम्म कसरी पुर्याइयो तथा घटनामा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले हालसम्म कुनै विवरण सार्वजनिक गरेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















