कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पद तत्कालका लागि सुरक्षित भएको छ। उनीविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका एक सांसदले समर्थन फिर्ता लिएपछि प्रस्ताव कमजोर बनेको हो।
अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नौ जना प्रदेशसभा सदस्यमध्ये डम्मरी महराले आफ्नो हस्ताक्षर फिर्ता लिएका थिए । उनले काँग्रेसभित्रको एकता कायम राख्नुपर्ने तथा प्रदेशको बजेट निर्माण प्रक्रियालाई प्राथमिकता दिनुपर्ने कारणले निर्णय फिर्ता लिएको बताएका छन् ।
महराको निर्णयसँगै मुख्यमन्त्री शाहविरुद्धको अविश्वास प्रस्तावमा समर्थन गर्ने सांसदको संख्या घटेको छ, जसले तत्कालका लागि उनको पद जोगिएको हो।
यसअघि नेपाली काँग्रेसका बहुमत प्रदेशसभा सदस्यहरूले शाहलाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै अविश्वास प्रस्ताव दर्ता गरेका थिए। प्रदेशसभा सदस्य दिवानसिंह विष्टको नेतृत्वमा उक्त प्रस्ताव काँग्रेस संसदीय दलको कार्यालयमा दर्ता गरिएको थियो।
काँग्रेसभित्र नेतृत्व परिवर्तनको विषयलाई लिएर देखिएको विवादबीच एक सांसदले समर्थन फिर्ता लिएपछि दलभित्रको शक्ति सन्तुलनमा नयाँ मोड आएको छ।




















