कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहविरुद्ध उनकै दलका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेका छन्।
प्रदेश सभामा नेपाली कांग्रेसका १८ सांसद रहेकामा एक सांसद प्रकाश देउवा लामो समयदेखि अमेरिकामा छन्। नेपालमा रहेका १७ सांसदमध्ये बहुमत सदस्यहरूले हस्ताक्षर गर्दै संसदीय दलमा शाहविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।
एक कांग्रेस सांसदका अनुसार ९ जना सांसदको हस्ताक्षरसहित दलका नेताविरुद्ध अविश्वास प्रस्ताव पेश गरिएको हो।
पछिल्लो समय कांग्रेसभित्रै मुख्यमन्त्री शाहको नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएको थियो। केही सांसदहरूले सार्वजनिक रूपमा नै उनको राजीनामा माग गर्दै आएका थिए।
मुख्यमन्त्री शाहले आफूलाई दलका बहुमत सदस्यहरूको समर्थन नरहे पदमा बसिरहन नचाहने बताउँदै आएका थिए। त्यसपछि असन्तुष्ट पक्षले हस्ताक्षर संकलन अभियान सुरु गरेको थियो।
अविश्वास प्रस्ताव दर्तासँगै सुदूरपश्चिम प्रदेश कांग्रेस संसदीय दलभित्रको विवाद थप चर्किएको छ। अब संसदीय दलको आगामी प्रक्रियाले नेतृत्व परिवर्तन हुने वा नहुने टुंगो लगाउनेछ।




















