काठमाडाैं । नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावका कारण मौसममा आंशिक परिवर्तन देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बादल लागेको छ भने तराईका धेरैजसो स्थानमा मौसम आंशिक रूपमा खुला रहेको छ।
अहिले कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश का केही क्षेत्रमा बादल लागेको छ। विशेषगरी कोशी प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो हिमाली र पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहने अनुमान गरिएको छ। यी क्षेत्रका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। साथै लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
यता मधेश प्रदेश तथा कोशी प्रदेशको तराई क्षेत्रमा भने तापक्रम बढ्ने र दिनभर गर्मीको अनुभूति हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
रातिको समयमा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने अपेक्षा गरिएको छ। कोशी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ। त्यस्तै बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा पनि हल्का वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्।
महाशाखाले चट्याङ्गसहित वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।




















