काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ को उपाधि जितेको छ। फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै साविक विजेता आरसीबीले उपाधि रक्षा गरेको हो। पहिलो उपाधि जित्न १८ वर्ष लगाएको आरसीबी साविक विजेताको रूपमा आइपीएलको उपाधि रक्षा गर्ने तेस्रो टिम हो।
अहमदाबाद स्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरात टाइटन्स निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रन बनायो।
गुजरातले दिएको १५६ रनको विजयी लक्ष्य पछाएको आरसीबीले १८ ओभरमा ५ विकेट गुमाउँदै १६१ रनसहित लक्ष्य पूरा गर्यो ।
आरसीबीका लागि ओपनर ब्याटर विराट कोहलीले ७५ रनको अविजित पारी खेले। उनले ४२ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। पहिलो विकेटका लागि ओपनरद्वय विराट र बैंकटेस अय्यरले ६२ रनको साझेदारी गरेका थिए। बैंकटेसले १६ बलमा ४ चौका र २ छक्का सहित ३२ रन बनाए। कप्तान रजत पाटीदारले १५ रन बनाउँदा टिम डेविडले २४ रन बनाएका थिए। जितेश शर्मा ११ रनमा अविजित रहे।
गुजरात टाइटन्सको लागि बलिङतर्फ रासिद खानले दुई विकेट लिए मोहम्मद सिराज, कागिसो राबाडा र अर्सद खानले १-१ विकेट लिए।
त्यसअघि, पहिलो इनिङ्समा ब्याटिङ गरेको गुजरात टाइटन्सका लागि वासिङ्टन सुन्दरले ५० रनको अविजित अर्धशतकीय पारी खेले। सुन्दरले ४ रनमा जीवनदान पाएका थिए । नौ ओभरको अन्तिम बलमा उनलाई ज्याकब डफीले क्याच गराउन खोजेका थिए तर थर्ड अम्पायरले औंलाले मैदानमा छोएको र बल मैदानमा नै देखिएको हुँदा उनले वासिङ्टनलाई नटआउटको घोषणा गरिदिएका हुन्। गुजरात टाइटन्सका लागि उनैले सर्वाधिक रन बनाए। ओपनरद्वय साई सुदर्शन र सुभमन गिलले क्रमश: १२ र १० रन बनाए। निशान्त सिन्धुले २० र जोस बट्लरले १९ रन बनाए। अर्शद खानले १५ रन बनाउँदा कागिसो राबाडा ७ रनमा अविजित रहे।
गुजरातको मध्यक्रम ध्वस्त हुँदा फाइनलमा पनि लिग र अन्य खेलहरू जस्तै गुजरातको ब्याटिङ कोल्याप्स भयो। ओपनरद्वय साई सुदर्शन र कप्तान शुभमन गिल नचलेको अवस्थामा २०२६ को आइपीएलभरि गुजरातको ब्याटिङ सधैं संघर्षरत भइरह्यो। सोही समस्या फाइनलमा पनि देखियो। मध्यक्रममा आएका वासिङ्टन सुन्दरले जीवनदान पाएर अविजित ५० रनको पारी खेले। त्यसबाहेक उनलाई साथ दिने कोही पनि भएनन् फलस्वरूप गुजरात टाइटन्स १५५ रनमा सिमित बन्यो।
आरसीका लागि बलिङतर्फ रसिक सलामले सर्वाधिक ३ विकेट लिए। भुवनेश्वर कुमार र जोश ह्याजलवुडले २-२ विकेट लिँदा कुर्नाल पाण्ड्याले १ विकेट लिए।आइपीएल २०२६ को प्लेयर अफ सिरिज राजस्थान रोयल्सका युवा ब्याटर वैभव सूर्यवंशी भएका छन्। उनले १६ खेलमा ७७६ रन बनाएका हुन्।
त्यस्तै प्रतियोगिताको इम्प्याक्टफुल ब्याटर पनि वैभव नै भए। इम्प्याक्टफुल बलरको उपाधि उपाधि विजेता टिम आरसीबीका भुवनेश्वर कुमारले जितेका छन्। उनले १६ खेलमा २८ विकेट लिए।



















