खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाले आफ्नै सुविधासम्पन्न पक्की प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिका केन्द्र कुभिण्डेको हरमटारमा निर्माण गरिएको साढे चारतले भवन २०८३ वैशाख ३१ गते गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला कुमारी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत राजेश दाहालले संयुक्त रूपमा उद्घाटन गरेसँगै सवै सेवा त्यहीबाट शुरु भएको हो ।

स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको पाँच रोपनी आठ आना जग्गामा निर्माण गरिएको भवनमा २१ वटा कोठासहित महिला तथा पुरुषका लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था गरिएको छ । संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानीमा पाँच करोड ४८ लाख ४४ हजार ५८० रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको उक्त भवन एसई–धुम–एमकेएस जेभीले निर्माण गरेको हो । निर्माण कम्पनीले तोकिएको समयअगावै भवन निर्माण सम्पन्न गरी २०८२ चैत २१ गते गाउँपालिकालाई हस्तान्तरण गरेको थियो ।
उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत, पूर्व गाउँपालिका अध्यक्ष, पूर्व प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, कर्मचारी, पत्रकार तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा समयमै भवन निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायी लक्षुमण श्रेष्ठलाई सम्मान गरिएको थियो भने भवन निर्माणमा प्रशासनिक सहयोग पुर्याएका पूर्व प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीलाई पनि सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी, भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने काजिमान श्रेष्ठ, अमृतबहादुर सार्की, चन्द्रबहादुर सार्की, जितबहादुर सार्की, डिल्लीशेर राई, मानबहादुर श्रेष्ठ, भीमबहादुर राना मगर, पूर्णबहादुर सार्की, टिका सार्की, घनश्याम श्रेष्ठ, दिलबहादुर श्रेष्ठ, लक्ष्मीनारायण श्रेष्ठ, तोयानाथ रेग्मी, लिलानारायण श्रेष्ठ, गोपाल श्रेष्ठ, नवराज पोखरेल र गंगाबहादुर भुजेललाई समेत सम्मान गरिएको सूचना अधिकारी तथा पञ्जीकरण शाखा प्रमुख गिरीराज रानामगरले जानकारी दिए ।

गाउँपालिकाले यसअघि ट्रस भवन र साँघुरो सभाहलबाट सेवा प्रवाह गर्दै आएको थियो । नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ । गाउँपालिकाको केन्द्र र नामलाई लिएर लामो समयदेखि विवाद रहँदै आएकोमा सर्वोच्च अदालतले २०८० चैत २२ गते हरमटारलाई नै स्थायी केन्द्र कायम गर्ने फैसला गरेपछि विवाद समाधान भएको थियो ।
गाउँपालिकाले प्रशासनिक भवनसँगै कर्मचारी आवास, सभाहल र चिस्यान केन्द्रसमेत निर्माण सम्पन्न भइसकेको जनाएको छ ।




















