काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ ।
गए राति लखनउमा सम्पन्न खेलमा चेन्नईले दिएको १ सय ८८ रनको लक्ष्य लखनउले १६ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्याे ।
लखनउका लागि मिचेल मार्शले विस्फोटक ब्याटिङ गर्दै ३८ बलमा ९ चौका र ७ छक्काको मद्दतमा सर्वाधिक ९० रनको अर्धशतकीय पारी खेले । यस्तै, जोश इंग्लिसले ३६ तथा निकोलस पूरनले ३२ रन बनाए ।
चेन्नईका मुकेश चौधरी र स्पेन्सर जोन्सनले एक–एक विकेट लिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो ।
चेन्नईका कार्तिकले शर्माले ४२ बलमा ६ चौका ५ छक्कसहित ७१ रनको उत्कृष्ट इनिङ खेले । यस्तै, शिवम दुबेले ३२, तथा डेवाल्ड ब्रेभिसले २५ रनको योगदान दिए । लखनउका आकाश सिंहले सबैभन्दा बढी ३ विकेट लिए ।
यो जितपछि पनि अंक तालिकाको अन्तिममै रहेको लखनउको १२ खेलबाट ८ अंक छ । पराजित भएको चेन्नई समान खेलबाट १२ अंकसहित छैटौँ स्थानमा छ ।




















