काठमाडौँ । लिग च्याम्पियन इन्टर मिलानले बुधबार लाजियोलाई २–० ले पराजित गर्दै इटालियन कपको उपाधि जितेको छ । यो जितसँगै इन्टरले यस सिजन घरेलु कप डबलको उपलब्धि समेत हात पारेको छ । इन्टरले यसअघि नै इटालीको सिरी ए उपाधि उचालेको थियो ।
रोममा भएको फाइनलमा इन्टरले एडम मरुसिचको आत्मघाती गोलबाट सुरुवाती अग्रता पाएको थियो । त्यसपछि लउटारो मार्टिनेजले एक गोल थप्दै टोलीको जित सुनिश्चित गरेका हुन् । यो सिजन सबै प्रतियोगितामा मार्टिनेजले २२ औं गोल गरेका हुन् ।
खेलका दुवै गोल पहिलो हाफमै भएका थिए । पहिलो हाफमा जित सुनिस्चित गरेको इन्टरले सहजै उपाधि उचालेको हो । इन्टरले इटालियन कप जितेको यो दसौं पटक हो ।



















