काठमाडौँ । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । अहमदावादमा मंगलबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ८२ रनले पराजित गर्दै गुजरातले लगातार पाँचौँ जित निकालेको हो ।
जितसँगै गुजरातको १० खेलबाट १६ अंक भएको छ । पराजित हैदरावाद भने १४ अंकसहित तेस्रो स्थानमा छ ।
गुजरातले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको हैदरावाद १४.५ ओभरमा मात्र ८६ रनमा समेटियो । हैदरावादका लागि कप्तान प्याट कमिन्सले बनाएको १६ रन नै सर्वाधिक स्कोर रह्यो । टोलीका अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
हैदरावादलाई सस्तैमा समेट्न गुजरातका जेसन होल्डर र कगिसो रबाडाले घातक बलिङ गरे । होल्डरले २० रन खर्चेर ३ विकेट लिए भने रबाडाले २८ रन खर्चेर समान तीन विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । उसका लागि साई सुदर्शनले ६१ र वासिङ्टन सुन्दरले ५० रनको अर्धशतकीय योगदान दिएका थिए ।




















