काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयमा हलुका सवारी चालकका रूपमा कार्यरत मुस्तकिम मियाँ अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दामा पक्राउ परेका छन्।
सप्तरीको महादेवा गाउँपालिका–१ बल्थी स्थायी घर भई हाल राजविराज–३ पाख्रेल टोल बस्दै आएका २७ वर्षीय मियाँलाई सोमबार राजविराजबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सप्तरीका प्रहरी प्रमुख गौतम केसीका अनुसार उनीमाथि गम्भीर आपराधिक घटनामा संलग्न रहेको आरोपमा अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार २०८२ फागुन १४ गते मियाँसहितको समूहले राजु कुमार चौधरीलाई अपहरण गरी लुटपाट गरेको आरोप छ। बा.९९ प ५७७५ नम्बरको मोटरसाइकलमा पुगेको समूहले बन्दुक देखाएर चौधरीलाई नियन्त्रणमा लिएको र राजविराज–८ स्थित सुनसान क्षेत्रमा लगेर बन्धक बनाएको पीडितको जाहेरीमा उल्लेख छ।
पीडितका अनुसार उनीमाथि कुटपिट गर्नुका साथै अपमानजनक व्यवहार गरिएको थियो। मोबाइल फोन, दुई तोला सुनको सिक्री र नगद १ लाख ३० हजार रुपैयाँ लुटेर समूह फरार भएको आरोप छ। घटनामा संलग्न अन्य तीन जना अझै फरार रहेका प्रहरीले जनाएको छ।
जिल्ला अदालत सप्तरीले वैशाख २४ गते मियाँविरुद्ध पक्राउ अनुमति जारी गरेको थियो। उनीविरुद्ध अपहरण, शरीर बन्धक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मियाँ २०८२ चैत २७ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत मन्त्री यादवको स्वकीय सचिवालयमा हलुका सवारी चालक पदमा नियुक्त भएका थिए।
यस्तै, मियाँमाथि विद्युतीय अपराध र अर्का एक युवकलाई निर्वस्त्र बनाएर कुटपिट गरेको घटनासम्बन्धी थप दुई मुद्दामा पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।



















