नयाँ दिल्ली । माधव तिवारीको उत्कृष्ट अलराउन्ड प्रदर्शनको मद्दतले दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंग्समाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । पञ्जाबले दिएको २११ रनको विशाल लक्ष्य दिल्लीले ६ बल बाँकी छँदै ७ विकेट गुमाएर पूरा गरेको हो ।
निर्धारित २० ओभरमा पञ्जाब किंग्सले ५ विकेट गुमाउँदै २१० रनको बलियो योगफल खडा गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले सुरुदेखि नै आक्रामक खेल खेलेको थियो । दिल्लीका लागि जित दिलाउन माधव तिवारीले निर्णायक भूमिका खेले । उनले मात्र ८ बलमा विष्फोटक १८ रन जोड्दै टोलीलाई फिनिसिङ लाइन पार गराए ।
दिल्लीको जितमा कप्तान अक्षर पट्टेल र डेभिड मिलरले अर्धशतकीय इनिङ खेले । पट्टेलले ३० बलमा ५६ रन बनाउँदा मिलरले २८ बलमा ५१ रन बनाउँदै विष्फोटक ब्याटिङ गरेका थिए ।
ब्याटिङ अघि बलिङमा पनि तिवारीले महत्वपूर्ण २ विकेट लिए । ४० रन खर्चेर २ विकेट लिनुका उनी ‘प्लेयर अफ द म्याच’ बने ।
पञ्जाबका बलरले अन्तिम ओभरमा लय गुमाउँदा दिल्लीले १९ ओभरमै २१६ रन बनाउँदै खेल आफ्नो पक्षमा पारेको थियो । यो जितसँगै दिल्ली क्यापिटल्स १२ खेलमा १० अंक जोडेर सातौ स्थानमा सीमित छ । ११ खेल खेलेको पञ्जाब १३ अंकसहित चौथो स्थानमा छ ।




















