झापा । भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान थालेपछि मेचीनगरको बाहुनडाँगीलगायत सीमा क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ ।
मेचीनगर नगरपालिकाको वडा नं १, ४ र ५ स्थित बाहुनडाँगी क्षेत्रमा एक सातायता दिनहुँ भारतीय जङ्गलबाट प्रवेश गर्ने ३० देखि ४० को सङ्ख्याका हात्तीको बथानले किसानको मकै, सुपारीलगायत बालीमा क्षति पुर्याउने गरेका छन्।
प्रवेश नाकामा हात्ती रोक्न, स्थानीयलाई सुरक्षा प्रदान गर्न र खेतीबालीमा क्षति हुन नदिन सर्वपक्षीय बैठकबाट निर्णय गरेर सुरक्षाकर्मी, वन रक्षक, रेपिड रेस्पोन्स टिम लगायतको संयुक्त टोली परिचालन गरिएको मेचीनगर वडा नं ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए।
उनले एक सातायता भारतको आसामबाट आएका लगभग १०० को संख्यामा रहेका हात्तीको बथान दिनभर सीमापारिको जङ्गलमा बस्ने गरेको र रात परेपछि बथानबाट अलग्गिएर ३० देखि ४० को सङ्ख्यामा नेपाल प्रवेश गरेर किसानको बालीमा क्षति पुर्याइरहेको जानकारी दिए।
हात्तीको बथान नेपाल प्रवेश गर्न नदिने उपाय खोज्न हालै सर्वपक्षीय बैठक आयोजना गरिएको थियो।
सर्वपक्षीय बैठकले भारतीय वन अधिकारी र सरकारी निकायसँग हात्ती रोक्न छलफल गर्ने, साँझ ६ बजेपछि हात्ती हेर्ने निहुँमा प्रवेश नाकाहरुमा सर्वसाधारणलाई जान रोक लगाउने, प्रभावित क्षेत्रका आधारमा बस्ती वरिपरि मौसमी तारबार लगाउने, हात्ती खेदाउन र नाका प्रवेश रोक्न ट्याक्टर परिचालन गर्ने, ट्रयाक्टरका लागि नगरपालिकाबाट इन्धन उपलब्ध गराउने, रातको समयमा हिँडडुल नगर्न सर्वसाधारणलाई माइकिङ गर्नेलगायत निर्णय गरेको वडाध्यक्ष कार्कीले जानकारी दिए।
मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेतीले हात्ती प्रवेश रोक्न बाहुनडाँगीको सीमावर्ती तीन वटा वडामा लगाइएको १८ किलोमिटर लामो सौर्य तारबारको आवश्यक मर्मतसम्भारका लागि प्रक्रिया अघि बढिरहेको बताए।
एकदशकअघि जडान गरिएको उक्त विद्युतीय तारबारमा प्रयोग भएका अधिकांश ब्याट्री फेर्नुपर्ने अवस्था रहेको हुँदा राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय र मेचीनगर नगरपालिकाको रु ३० लाख बजेटमा सीमाको सौर्य तारबार मर्मत गरिने उनले जानकारी दिए।
मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका पूर्वअध्यक्ष निरज घिमिरे नेपालमा बाली पाक्ने बेलामा भारतबाट सयौँको हुलमा भित्रिने हात्तीका कारण बर्सेनि जनधनको क्षति दोहोरिने गरेको बताउँछन्।
उनले भारत सरकारको सम्बद्ध निकायसँग उच्चस्तरीय वार्ता गरेर हात्तीको बथान रोकिनुपर्ने माग गरेका छन्।
यसपालि आएका हात्तीले पाक्न लागेको मकैबाली खाएर सखाप गरेको र सुपारीको बोट भाँचेर सोत्तर पारेको छ । केही महिनाभित्रै हात्तीले बाहुनडाँगीमा तीन जनालाई आक्रमण गरेर घाइते बनाएको र १५ वटा घरमा क्षति पुर्याएको स्थानीय गोपी रिजालले बताए।
उनले सीमा क्षेत्रमा जडान गरिएको सौर्य तारबारको ब्याट्री चोरी भएकाले नयाँ ब्याट्री फेर्नुपर्ने माग गरे। (रासस)



















