काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा गुजरातले राजस्थान रोयल्सलाई ७७ रनले हराएको हो ।
गुजरातले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको राजस्थान १६ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५२ रनमा समेटियो ।
राजस्थानका लागि रविन्द्र जडेजाले सर्वाधिक ३८ रनको योगदान दिए । यस्तै, वैभव सूर्यवंशीले ३६, ध्रुव जुरेलले २४, दसुन शनकले १६ तथा शुभम् दुवेले १५ रन जोडे ।
गुजरातका राशिद खानले सबैभन्दा बढी ४ विकेट लिए । यस्तै, जेसन होल्डरले ३ तथा कागिसो रबाडाले २ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २९ रन बनाएको थियो ।
गुजरातका लागि शुभमन गिलले ८४ तथा साई सुदर्शनले ५५ रनको अर्धशतकीय पारी खेले । यस्तै, वासिङ्टन सुन्दरले ३७ रन बनाए ।
राजस्थानका ब्रिजेश शर्माले २, रविन्द्र जडेजा र यश पुञ्जाले १–१ विकेट लिए ।
यो जितसँगै गुजरात टाइटन्स ११ खेलबाट १४ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । पराजित भएको राजस्थान रोयल्स समान खेलबाट १२ अंकका साथ पाँचौँ स्थानमा छ ।




















