वीरगञ्ज । त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तारको काम रोक्न माग गर्दै मेनोड क्षेत्रका घर जग्गाधनी र व्यापारीहरुले बिहीबार मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेका छन् । वीरगञ्ज बचाउ संघर्ष समिति र वीरगञ्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिको अगुवाइमा घर जग्गाधनी र व्यापारीहरुले आदर्शनगर चोकदेखि घण्टाघर चोकसम्मको मेनरोडमै मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन् ।
सडक विभागले वीरगञ्ज महानगरपालिकाको सहयोगमा यहि वैशाख ६ र ७ गते त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगञ्जको गण्डकदेखि मितेरी पुलसम्मको मेनरोडको दायाँ–बायाँ २५-२५ मिटर सडक क्षेत्रभित्रका संरचनाहरु डोजर लगाएर भत्काएको थियो । त्यसपछि सडक विभागले सडकको केन्द्र विन्दुबाट दायाँ–बायाँ २५-२५ मिटर नापेर चिन्ह पनि लगाइसकेको छ । चिन्ह लगाइएको सडक क्षेत्रभित्रका बाँकी संरचनाहरु घरधनी आफैले खाली गर्न अनुरोध गर्दै नगरे सडक विभागले फेरि डोजर लगाएर खाली गर्ने सूचना पनि सडक विभागले जारी गरिसकेको छ ।
तर त्यसको विरोधमा निरन्तर आन्दोलन गर्दै मेनरोड क्षेत्रका घर जग्गाधनी र व्यपारीहरुले बिहीबार मेनरोड क्षेत्रमै मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले वीरगञ्जमा डोजर आतंक बन्द गर, सुकुम्बासी बनाउन पाइँदैन, अत्याचार बन्द गर, वीरगञ्जको मेनरोडलाई शहरी मार्ग कायम गर, बालेन सरकार मुर्दावाद डोजर आतंक बन्द गर् लगायतका नारा लगाएका थिए ।
सरकारले आफूहरुको माग सम्बोधन नगरेसम्म आन्दोलन अझ सशक्त बनाउँदै लैजाने चेतावनी समेत उनले दिए । यसअघि वैशाख ११ गते पनि मेनरोड क्षेत्रका घर जग्गाधनी र व्यापारीहरुले सडक विस्तारको विरोधमा वीरगञ्जको सडकमा उत्रिएर प्रदर्शन गरेका थिए।
त्यस दिन उनीहरुले सडक विस्तार कार्य रोक्न माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री बालेन शाहलाई ज्ञापनपत्र पनि पठाएका थिए। त्यसपछि गत साता उनीहरु काठमाडौंमै पुगेर माइतीघर मण्डलामा पनि नाराबाजीसहितको प्रदर्शन गरेका थिए । सडक डिभिजन कार्यालय हेटौंडाले वीरगञ्ज महानगरपालिकासँगको समन्वयमा गत वैशाख ६ र ७ गते राष्ट्रिय राजमार्गको मापदण्ड अनुरूप दायाँ–बायाँ २५-२५ मिटर विस्तारका लागि करिब ८ किलोमिटर मेनरोड क्षेत्रका झण्डै १ हजार २ सय वटा पक्की संरचना (घर, भवन, पसल र टहरा) हरुमा डोजर चलाएर भत्काएको थियो ।



















