काठमाडौं । डब्लुबीसी मुवाथाई नेपालले मे १६, २०२६ मा काठमाडौंमा ८ औं डब्लुबीसी मुवाथाई राष्ट्रिय च्याम्पियनसिप ‘इएफएस फाइट नाइट ८’ आयोजना गर्ने घोषणा गरेको छ ।
‘इएफएस फाइट नाइट ८’ को बेल्टका लागि इरावान मुवा थाई फाइट जिमका कर्मा बहादुर मगराती र जिमखानाका गुमान घर्ती मगरबीच प्रतिस्पर्धा हुने भएको छ ।
५८ केजी सुपर फेदरवेट तौल समूहमा यो मुख्य प्रतिस्पर्धाको विजेताले १ लाख रुपैयाँ र बेल्ट प्राप्त गर्ने डब्लुबिसी मुवा थाई नेपालका राजु राईले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । यो स्पर्धामा पराजित खेलाडीले २० हजार रुपैयाँ पाउनेछन् ।

गुमानले प्रतिद्वन्द्वीलाई हल्का रुपमा नलिन चेतावनी दिँदै आफूले उत्कृष्ट प्रदर्शन गर्ने पदक आफ्नो हुने दावी गरेका छन् । अर्का प्रतिस्पर्धी कर्माले आफू पनि जित्नकै लागि खेल्ने बताउँदै कसरी आफूले जित्छु भन्ने कुरा रिङमा नै थाहा हुने बताएका छन् ।
प्रतियोगितामा ५२ खेलाडीले २६ खेलमा प्रतिस्पर्धा गर्नेछन् । जसमा ६ वटा प्रोफेसनल बाउट हुनेछन् । बाँकी २० एमेच्योर तथा प्रो–एमेच्योर नियम अनुसार खेलाइने बताइएको छ ।
इभेन्टमा महिला ४८ केजी तौल समुहमा दुई पटककी राष्ट्रिय च्याम्पियन करिश्मा कार्की र भारतकी पुष्पा आरबीच प्रतिस्पर्धा हुनेछ । यो प्रतिस्पर्धाको विजेताले ५० हजार र उप विजेताले २० हजार रुपैयाँ प्राप्त गर्ने बताइएको छ ।
करिश्मा मुवा थाईमा दुई पटक राष्ट्रिय च्याम्पियन बन्ने एक्ली खेलाडी भएको कारण उनीबाट अन्तर्राष्ट्रिय पदकको समेत अपेक्षा गरिएकोले विदेशी प्रतिद्वन्द्वीलाई बोलाइएको अध्यक्ष राईले जानकारी दिएका छन् ।
करिश्माले लामो समयपछि नेपालमै खेल्न पाउँदा उत्साहित रहेको बताउँदै आफूले नकआउटमा नै जित निकाल्ने दावी गरेकी छिन् । उनले आफ्नो प्रतिद्वन्द्वी एमएमए पृष्ठभूमिबाट आएको भए पनि आफू लामो समयदेखि मुवा थाईमा रहेको बताइन् । उनले यो प्रतियोगिताले नेपाली खेलाडीका लागि अन्तर्राष्ट्रिय अवसरको ढोका खोल्ने महत्वपूर्ण मञ्च भएको बताएकी छिन् ।
अन्य प्रोफेसनल फाइटको ६९.८ केजीमा सन्तोष खत्री र एलेन थकाली, ६२ केजीमा फुर्बा शेर्पा र अनुप कटुवाल, ५४.५ केजीमा सञ्जु लामा र आलिश बोम्जन तथा ५४.५ केजीमा मुबिन राई र दावा लामाबीच प्रतिस्पर्धा जानकारी दिइएको छ ।
बागमती युवा तथा खेलकुद परिषद, र बूढानीलकण्ठ नगरपालिकाको सहयोगमा संचालन हुन लागेको यो प्रतियोगितालाई यती एयरलाइन्स, द एलिभेट एक्स्ट्रिम इनर्जी ड्रिंक्सले प्रायोजन गरेका छन् । प्रतियोगितामा देशभरका ९ वटा जिमका खेलाडीको सहभागिता रहने बताइएको छ ।
अगस्ट २७, २०२१ मा स्थापित डब्लुबीसी मुवाथाई नेपालले खेलाडी विकास, प्रतिस्पर्धा र अन्तर्राष्ट्रिय एक्सपोजर मार्फत मुवाथाईलाई उकास्ने लक्ष्य राखेको अध्यक्ष राईले बताएका छन् ।





















