म्याग्दी । म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि, अन्नपूर्ण र रघुगंगा गाउँपालिकाको लेकाली क्षेत्रका भीरबाट मह निकाल्न थालिएको हो । धवलागिरी गाउँपालिका-२ खोरीयाका महसिकारी मोतिप्रसाद पाइजाले शुक्रबारदेखि महशिकार थालिएको जानकारी दिए।
खोरीया नजिकैको महभिरमा रहेका दुई घारमा शुक्रबार महशिकार गरेको पाइजाको टोलीले अन्य पहरामा पनि महशिकारलाई निरन्तरता दिने उनले बताए। १५ जनाको टोलीले महभिरबाट करिब ७० लिटर मह निकालेको छ ।
बेँसीका भिरबाट सुरु हुने मह सिकार गर्दै असारमा लेकको पहाडमा पुगिने अन्नपूर्ण गाउँपालिका-५ स्वाँतका महशिकारी लोकबहादुर पाईजाले बताए। मह सिकारीले डोरीको सहायताले भीर मौरीको गोला भएको देख्दै डरलाग्दो भिरमा झुण्डिएर मह निकाल्ने गर्दछन् ।
भिरमह खाँदा जति स्वादिलो र रसिलो हुन्छ यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने हुन्छ । भीरमा भीरमौरीले लगाएका गोला काट्नका लागि महसिकारी डोरी (पराङ)मा झुन्डिएर मह सिकार गर्ने गर्दछन् ।
वसन्त र शरद ऋतु महशिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरद्मा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त समय हो । प्रतिलिटर रु तीन हजार देखि रु तीन हजार ५०० का दरले भिरमह बिक्री हुने गर्छ ।
मह निकाल्नका लागि भीरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भीरको माथिबाट तल भुइँसम्म डोरी(स्थानीय भाषामा परङ) झुन्ड्याउँछन् भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछन् ।
महको चाका वरिपरि माहुरी घेरिएर बसेका हुन्छन् । धुवाँ लगाइदिएपछि मौरी भाग्छन् । त्यतिबेला मह निकाल्न विशेष ध्यान पुर्याउनुपर्छ । जब परङमार्फत गएका सिकारीले गोलामा धुँवा झोस्न सुरु गर्छन् माहुरीले टोक्ने डरले वरपरका सबै सिकारी रूख र ओडारमा लुक्छन् । माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरूलाई बाहिर आएर मह निकाल्न सजिलो हुने गर्छ ।
मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले भुइँसम्म ल्याउने गरिन्छ । स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिवर्द्धक हुनाका साथै धार्मिक कार्यका लागि पनि प्रयोग हुने उपभोक्ताको अनुभव छ । (रासस)



















