काभ्रेपलाञ्चोक । दिउँसोको वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा आवागमन बन्द गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटारसम्मको सडकखण्ड आज दिउँसो ३:३० बजेदेखि बन्द गरिएको हो ।
प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी रविन विष्टका अनुसार रोशी खोलामा पानीको बहाव बढेर ठूलो बाढी आएको र जोखिम बढेपछि सडक बन्द गर्नुपरेको हो ।
उनले हालको अवस्था हेरेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गर्दै अर्को सूचना जारी नभएसम्म सो खण्डमा यात्रा नगर्न अनुरोध गरेका छन् ।
राजमार्ग बन्द भएपछि सवारी साधनहरूलाई धुलिखेलको काभ्रेभन्ज्याङ र सिन्धुलीको नेपालथोक क्षेत्रमा रोकिएको (होल्ड) अवस्थामा राखिएको छ ।
गत वर्षको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत रोशी र नेपालथोक क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो, जसपछि अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन हुँदै आएको थियो । हाल पनि सो क्षेत्रमा स्थायी सडक निर्माणको काम जारी रहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।




















