काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी घरेलु सिरिजको पहिलो खेलमा नेपालले यूएईलाई ३७ रनले पराजित गरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८.२ ओभरमा १६३ रनमै समेटियो ।
यूएईका लागि हर्पित सिंह भाटियाले सर्वाधिक ३९ रन बनाए । कप्तान मोहम्मद वासिमले ३४ रन जोडे भने अक्षदीप नाथले ३० रन बनाए । आर्यंश शर्मा १८, अदीब उसमानी १, मोहम्मद शाहदाद २, खुजाइम तनविर १, अजय कुमार २ र निलांश केश्वानी १८ रनमा आउट भए । जुनेद सिद्दिकी ७ रनमा अविजित रहे ।
नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले १–१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा २०० रनमा अलआउट भएको थियो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले ९० बलमा सर्वाधिक ७५ रनको महत्वपूर्ण इनिङ्स खेले ।
कुशल भुर्तेलले २४ रन बनाए भने आसिफ शेख ७, भीम सार्की १०, कप्तान रोहित पौडेल २, बसिर अहमद २०, आरिफ शेख १५, सोमपाल कामी १५ र करण केसी २२ रनमा आउट भए । ललित राजवंशी शून्यमा अविजित रहे ।
यूएईका अजय कुमार र जुनेद सिद्दिकीले समान ३–३ विकेट लिए । खुजाइम तनविरले २ विकेट लिए भने हैदर अली र मोहम्मद शाहदादले १–१ विकेट लिए ।
यो जितसँगै नेपालले लिग–२ मा चार खेलपछि पहिलो जित दर्ता गरेको छ । साथै, यो नेपालको १० महिनापछिको पहिलो एकदिवसीय जित तथा घरेलु मैदानमा दोस्रो जित हो ।
अब नेपालले सिरिजअन्तर्गत आफ्नो दोस्रो खेल बुधबार ओमानसँग खेल्नेछ ।




















