कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रभावित स्थानीय बासिन्दाहरू विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन्। बुधबार उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि अर्धनग्न प्रदर्शन गरेका हुन्।
पीडितहरूले वर्षौँ बितिसक्दा पनि जग्गा सट्टाभर्ना नपाएको भन्दै आन्दोलन चर्काएका छन्। २०३३ सालमा शुक्लाफाँटा आरक्ष स्थापना गर्दा स्थानीयको जग्गा अधिग्रहण गरिएको थियो भने त्यसपछि पनि आरक्ष विस्तार हुँदै हाल राष्ट्रिय निकुञ्जका रूपमा रूपान्तरण गरिएको छ।
दशकौँ बित्दा पनि उचित क्षतिपूर्ति र पुनःस्थापनाको व्यवस्था नभएको गुनासो गर्दै शुक्लाफाँटा आरक्ष पीडित जिल्ला संघर्ष समितिले प्रदर्शन गरेको हो। उनीहरूले प्रत्येक पीडितलाई कम्तीमा १० कट्टा जमिन उपलब्ध गराउनुपर्ने, अहिलेसम्मको क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।
त्यस्तै, आधारभूत सेवासुविधा निःशुल्क र सुनिश्चित गर्न, सबै पीडितलाई एउटै वडामा समेट्न तथा द्वन्द्वपीडितसरह मान्यता दिनुपर्ने मागसमेत उनीहरूले अघि सारेका छन्।



















