कञ्चनपुर । कञ्चनपुरमा धारिलो हतियार प्रहारबाट एक युवकको हत्या भएको छ। सोमबार राति पुर्नवास नगरपालिका–५ भानुबस्तीका १८ वर्षीय उज्जल सायरको ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी हेमबहादुर शाहीका अनुसार बिहे समारोहमा गएका बेला दुई समूहबीच विवाद हुँदा सायरमाथि धारिलो हतियार प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घाइते सायरलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।




















