काठमाडौँ । नेपाली क्रिकेट टोलीले आज चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग दुई खेलको टी–२० सिरिजको पहिलो खेल खेल्दैछ । खेल अपराह्न ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपाल र यूएई साढे दुई वर्षपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आमनेसामने हुन लागेका हुन्।
नियमित कप्तान र सिनियर खेलाडीको अनुपस्थितिमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले नेपाली टोलीको नेतृत्व सम्हाल्दै छन् ।
युवा खेलाडीको बाहुल्यता रहेको टोलीले टी–२० मा नयाँ अध्यायको सुरुवात गर्ने अपेक्षा गरिएको छ ।
सिरिजमा नेपाली टोलीमा अनुभवी अनुहारसँगै युवा खेलाडीलाई प्राथमिकता दिइएको छ। जसमा कप्तान ऐरीसँगै कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन् । त्यस्तै बैकल्पिक खेलाडीमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान रहेका छन् । यो सिरिजमा नियमित कप्तान रोहित पौडेल भने मैदानमा हुने छैनन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले रात्रिकालीन समयमा हुने यस खेलका लागि ‘खल्ती’ एपमार्फत टिकट काट्ने व्यवस्था मिलाएको छ। सिरिजको दोस्रो खेल भोली हुनेछ ।



















