काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्री र सांसदहरूका लागि मासिक लेबीको दर निर्धारण गरेको छ । पार्टीका अनुसार मन्त्रीहरूका लागि १८ हजार र सांसदका लागि १६ हजार ५ सय रुपैयाँ लेबी तोकिएको हो। मन्त्री र सांसदहरूबाट हुने यो योगदानबाट पार्टीले मासिक रूपमा कुल ३२ लाख ९१ हजार रुपैयाँ संकलन गर्नेछ।
रास्वपाका महामन्त्री कबीन्द्र बुर्लाकोटीका अनुसार बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले लेबी उठाउने औपचारिक निर्णय गरेको हो। बैठकले मन्त्रीका स्वकीय सचिवहरूका लागि समेत मासिक २ हजार रुपैयाँ लेबी तोक्ने निर्णय गरेको छ। यसका साथै भविष्यमा सांसदहरूले पनि स्वकीय सचिव राख्न पाउने व्यवस्था कार्यान्वयनमा आएमा उनीहरूबाट पनि मासिक २ हजार रुपैयाँका दरले लेबी संकलन गरिने जानकारी दिइएको छ।
हाल रास्वपाको एकल सरकारमा १६ सदस्यीय मन्त्रिपरिषद् रहेको छ। पार्टीका १ सय ८२ सांसदको संख्याअनुसार मन्त्री र सांसदहरूबाट मासिक रूपमा कुल ३२ लाख ९१ हजार रुपैयाँ लेबी संकलन हुने देखिएको छ। वर्तमान मन्त्रिपरिषद् यथावत् रहेमा प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरूबाट मात्रै मासिक २ लाख ८८ हजार रुपैयाँ लेबी उठ्नेछ भने सांसदहरूबाट मात्रै मासिक ३० लाख ३ हजार रुपैयाँ लेबी संकलन हुने देखिन्छ ।
पाँच वर्षको अवधिमा पार्टीले लेबीमार्फत मात्रै कम्तीमा १६ करोड रुपैयाँभन्दा बढी रकम संकलन गर्ने निश्चित छ । यसअघि २०७९ सालमा रास्वपाले मन्त्रीहरूबाट ३० हजार र सांसदहरूबाट मासिक २५ हजार रुपैयाँ लेबी उठाउने गरेको थियो, जतिबेला प्रतिनिधिसभामा पार्टीका २१ जना सांसदमात्र थिए।
लेबी उठाउनेमा रास्वपा सबैभन्दा अगाडि
रास्वपाले नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाका सांसदहरूको तुलनामा बढी लेबी संकलन गर्ने निर्णय लिएको हो। २०७९ सालपछि एमालेले सांसदहरूबाट मासिक १३ हजार र कांग्रेसले १० हजार रुपैयाँ लेबी संकलन गरेका थिए। यस पटक विपक्षी दलहरूले लेबीको दर तय गरिसकेका छैनन्। यसअघि तत्कालीन नेकपा माओवादी केन्द्र (हाल नेकपा)ले मासिक १२ हजार रुपैयाँ लेबी उठाउने गरेको थियो। संसदीय दलको बैठकले पार्टी महामन्त्री बुर्लाकोटीलाई प्रमुख सचेतकको जिम्मेवारी दिने निर्णयसमेत गरेको छ ।




















