वीरगन्ज । ओपनर अर्जुन कुमालको शतक प्रेरित गण्डकीले आइतबार प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीलाई पराजित गरेको छ। वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा गण्डकीले लुम्बिनीलाई आठ विकेटले पराजित गरेको हो।
लुम्बिनीले प्रस्तुत गरेको २०७ रनको लक्ष्य गण्डकीले ४४.१ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । गण्डकीका लागि ओपनर अर्जुन कुमालले शतकीय इनिङ खेले। जारी प्रतियोगितामा दोस्रो शतक बनाउने क्रममा अर्जुनले १३० बलमा अविजित १०३ रन बनाए। अर्जुनले एक छक्का र १३ चौका प्रहार गरे। अर्जुनले यसअघि कोशीविरुद्ध १०२ रन बनाउँदै पहिलो शतक प्रहार गरेका थिए। जारी प्रतियोगितामा ४९८ रन जोड्दै अर्जुन सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पहिलो नम्बरमा छन् ।
गण्डकीका अर्का ओपनर क्रिबिन श्रेष्ठले ४३ रन बनाउँदा दिपक डुम्रेले अविजित २५ रन बनाए। मुस्कान थापाले २३ रन जोडे। लुम्बिनीका बलर सन्तोष यादव र दिनेश बोहोराले एक/एक विकेट लिए। यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले ४५ ओभरमा सबै विकेट गुमाएर २०७ रन जोडेको थियो। लुम्बिनीका सन्तोष यादवले ८० रन जोडे। यसैगरी सलाउदिन खानले ६० रनको पाली खेले। दिनेश बोहोराले २० र कप्तान देव खनालले १४ रन जोड्दा अन्य ब्याटर चलेनन्।




















