काठमाडौं । युट्युबर रोशन पोख्रेल रिहा भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहलाई अश्लील र आपत्तिजनक शब्दसहित गाली गरेको आरोपमा पक्राउ उनलाई आइतबार रिहा गरिएको हो ।
प्रधानमन्त्री शाहलाई गालीगलौज गरेको आरोपमा पाँचथर प्रहरीले फाल्गुनन्द गाउँपालिकादेखि पक्राउ गरेर अदालतबाट म्यादसमेत लिइएको थियो । तर उनको स्वास्थ्यमा समस्या भएको भन्दै प्रहरीले हाजिर जमानीमा हिरासतमुक्त गरेको हो ।
गत बिहीबार फाल्गुनन्द गाउँपालिकाबाट समातिएका उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले आइतबार हजुरआमा र काकाको जिम्मा लगाएको हो ।
उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको आरोप लगाइएको थियो। त्यही मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालत पाँचथरले १० दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
हिरासतमा राखिएका समयमा उनको स्वास्थ्यमा समस्या भएपछि हाजिरी जमानीमा छाड्ने निर्णय गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रामचन्द्र साहले बताए ।
जिल्ला अदालत पाँचथरबाट १० दिन म्याद लिएर अनुसन्धान अघि बढाएको अवस्थामा गाली गरेकै आरोपमा पक्राउ गरिएको भन्दै जेन(जीसहितले सरकारको आलोचना गरेका थिए । हाजिर जमानीमा रिहा भए पनि पोखरेलविरुद्धको मुद्दा भने अघि बढ्ने जानकारी साहले दिए । म्याद थप भइसकेकाले उनी हिरासत बाहिर गए पनि मुद्दा चल्ने प्रहरीले जनाएको छ ।
उनको पक्राउको विषयलाई लिएर जेन-जी मुभमेन्ट नेपालले कडा आपत्ति जनाएको थियो । जेन-जीहरू तनुजा पाण्डे र भावना राउले पनि बालेन्द्र सरकारको तीखो आलोचना गरेका थिए ।




















