काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनासमक्ष राजीनामा दिएका हुन् ।
देशको परिवर्तित राजनीतिक परिवेशलाई आत्मसात् गर्दै नवगठित सरकारलाई कार्य गर्न सहज होस् भन्ने उद्देश्यले आफूले नैतिकताका आधारमा राजीनामा दिएको कार्यकारी अध्यक्ष झाद्वारा पेस गरिएको राजीनामा पत्रमा उल्लेख छ । “देशको परिवर्तित राजनीतिक परिवेशलाई मैले आत्मसात् गरेको छु । नवगठित सरकारले आफ्नो अनुकूलताका आधारमा कार्यसञ्चालन गर्नुपर्दछ भन्ने मान्यता राख्दै नैतिकताका दृष्टिले मार्गप्रशस्त गर्नु उचित हुने ठानी आजैका मितिदेखि लागू हुनेगरी पदबाट राजीनामा गर्दछु”, पत्रमा भनिएको छ ।
नयाँ सरकार गठन भएसँगै नीतिगत रूपमा अघि बढ्न बाटो खुला गर्न आफूले राजीनामा दिएको उनले जानकारी दिए । विसं २०७९ असार ६ गते तत्कालीन सरकारले मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार झालाई चार वर्षका लागि कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो ।
झाद्वारा आफ्नो कार्यकालको कार्यप्रगति प्रतिवेदन पेस
कार्यकारी अध्यक्ष झाले मन्त्री डा तिमिल्सिनासमक्ष आफ्नो कार्यकालमा गरेका कामसहितको प्रतिवेदनसमेत पेस गरेका छन् । प्रतिवेदनमा संस्थागत सुधार, सेवा विस्तार तथा व्यवस्थापन सुदृढीकरणलगायत पक्षमा गरेका प्रगति उल्लेख छन् । यसअवधिमा केन्द्रीय कार्यालयको पुनः संरचना, एकीकृत समाचार कक्ष सञ्चालन, बहुभाषिक समाचार सेवा विस्तार, डिजिटल प्रणालीमार्फत सेवा प्रवाह, प्रशासनिक सुधारलगायत कार्य गरिएको प्रतिवेदनमा उल्लेख छ ।
आफ्नो कार्याकालमा समाचारका अतिरिक्त आलेख, तस्बिर र श्रव्य–दृश्य (भिडियो) सेवाको प्रभावकारी सुरुआत गर्नुका साथै विसं २०८१ भदौ १७ गतेदेखि २४ सैँ घण्टा नेपाली समाचार सेवा प्रारम्भ गरिएको झाले उल्लेख गरेका छन् ।
सेवा विविधीकरणअन्तर्गत मैथिली, नेपाल भाषा र अवधी गरी तीन मातृभाषा सेवा सञ्चालन, कार्यालयको भौतिक सुधार तथा निर्माणअन्तर्गत चितवनको भरतपुरमा राष्ट्रिय तालिम केन्द्र भवन निर्माण अन्तिम चरणमा पुगेको, धनगढीमा प्रदेश सरकारको सहयोगमा सुदूरपश्चिम सञ्चार विकास केन्द्र निर्माणको प्रक्रिया अगाडि बढेको र प्रदेश तथा जिल्लामा रहेका कार्यालयको स्तरोन्नति गरिएको पनि प्रतिवेदनमा जनाइएको छ ।
यसैगरी, संस्थाको इतिहास दस्तावेजीकरण गर्नुका साथै विसं २०८१ साउन ३२ देखि ‘रासस मिडिया सङ्ग्रहालय’ सञ्चालनमा ल्याइएको, राससलाई सरकारी समाचार एजेन्सीको रूपमा मात्र नभई जनताको भरपर्दो सूचनाको स्रोत बनाउन प्रयास गरिएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, राससको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, छिमेकी मुलुकका समाचार संस्थाहरूसँगको समन्वय र द्विपक्षीय सम्झौतामार्फत समाचार आदानप्रदानको दायरा फराकिलो बनाउन पहल गरिएको पनि उनले बताएका छन् ।
राजीनापश्चात् झाले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण कर्मचारी र सरोकार भएकाहरूलाई धन्यवादसमेत दिएका छन् । “ममाथि विश्वास गरी राससको नेतृत्वको जिम्मेवारी सुम्पिएकामा नेपाल सरकारप्रति आभार व्यक्त गर्दछु । यसअवधिमा सहयोगका लागि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सम्पूर्ण राससकर्मीप्रति आधार”, उनले भनेका छन् । (रासस)




















