विराटनगर । सुनसरीमा सिटी सफारी (ई–रिक्सा) चढेकी एक किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा चालक पक्राउ परेका छन्।
प्रहरीले रामधुनी नगरपालिकाका रोशनबहादुर विश्वकर्मा लाई नियन्त्रणमा लिएको हो। पीडित किशोरीको किटानी जाहेरीअनुसार आरोपितले धरानस्थित साकेला पार्क नजिकको जंगलमा लगेर कुटपिट गर्नुका साथै जबर्जस्ती करणी गरी मोबाइलसमेत लुटेको उल्लेख छ।
इलाका प्रहरी कार्यालय धरान का अनुसार चैत ६ गते साँझ १९ वर्षीया किशोरी सफारीमा चढेपछि अपहरणमा परेकी थिइन्। चालकले गलत बाटो प्रयोग गरी एकान्त स्थानमा पुर्याएर बलात्कार र लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पीडित मोरङको सुन्दरहरैँचा–७ गोठगाउँस्थित मावली घरबाट फर्किंदै गर्दा भोटेपुल क्षेत्रमा बस कुर्दै थिइन्। सोही क्रममा चालकले इटहरी पुर्याइदिने भन्दै सफारीमा चढाएको बताइएको छ।
प्रहरीका अनुसार घटनापछि किशोरीलाई कुटपिट गरी अचेत बनाइएको थियो। भीषणबाबु राई (डीएसपी) ले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

















