काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी चैत १३ गतेका लागि तय गरिएको साधारणसभा तथा निर्वाचन प्रक्रिया फेरि विवादमा परेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले परिषद्को स्वीकृतिबिना साधारणसभा र निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाइएको भन्दै सम्पूर्ण प्रक्रिया तत्काल स्थगित गर्न निर्देशन दिएपछि एन्फाको चुनावी प्रक्रिया अन्योलमा परेको हो ।
राखेपले एन्फालाई पत्र पठाउँदै परिषद्को स्वीकृति नभएसम्म साधारणसभा तथा निर्वाचनसम्बन्धी सबै काम कारबाही रोक्न आग्रह गरेको छ । पत्रमा राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम ७ (ग) र राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ (ङ) अनुसार परिषद्को स्वीकृति नआएसम्म यस्तो प्रक्रिया अघि बढाउन नमिल्ने उल्लेख गरिएको छ । राखेपका अनुसार, एन्फाले परिषद्सँग आवश्यक समन्वय नगरी निर्वाचन तालिका सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।
यसअघि पनि राखेपले एन्फालाई प्रचलित कानुनअनुसार साधारणसभा गर्न ११ बुँदे निर्देशनसहित पत्राचार गरेको थियो । तर, उक्त निर्देशनको पालना नगरी एन्फाले पुनः निर्वाचन तालिका सार्वजनिक गरेको जानकारी विभिन्न माध्यमबाट प्राप्त भएको परिषद्ले जनाएको छ । एन्फाले भने आगामी चारवर्षे कार्यकालका लागि निर्वाचन प्रक्रिया अघि बढाउँदै चैत १३ गते मतदान गर्ने तालिका सार्वजनिक गरिसकेको थियो ।
यसअघि माघ २८ गतेका लागि तोकिएको निर्वाचन स्थगित भएपछि फागुन २२ गते नयाँ तालिका सार्वजनिक गरिएको थियो । तर, एन्फाको निर्वाचन प्रक्रिया यसअघि पनि पटक-पटक अवरुद्ध हुँदै आएको छ । पहिलोपटक उच्च अदालत पाटनको आदेशका कारण र दोस्रोपटक निर्वाचन आयोगको निर्देशनका कारण चुनाव स्थगित गर्नुपरेको थियो । अब राखेपको निर्देशनपछि तेस्रोपटक पनि निर्वाचन अनिश्चित बनेको छ ।
एन्फा र खेलाडीबीच सहमति
अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच सहमति भएपछि एन्फामा लागेको ताला खुलेको छ । खेलाडी संघले एन्फासँग राखेको मागमा सहमति जुटेपछि मंगलबार ताला खुलेको हो । सहमतिपछि खेलाडीहरूले एन्फामा लागेको ताला खोलेको बताएका छन् ।
आइतबार खेलाडीहरूले एन्फा परिसरमा विरोध प्रदर्शन गर्दै तीनबुँदे मागसहित तालाबन्दी गरेका थिए । खेलाडी संघले शहीद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनको सुनिश्चितता, जसमा ‘ए’ डिभिजनको मिति तोक्नैपर्ने माग गरेका थिए ।
त्यस्तै, खेलाडी अक्षय कोषको विस्तृत विवरण -गत वर्ष एकै प्रतियोगिताबाट जम्मा ६५ लाखसहित) र खेलाडीहरूको तलब भत्ता तथा पुरस्कार रकम उपलब्ध गर्नुपर्ने (सन् २०१७ देखिको पुरस्कार तथा नियमित तलब भत्ता) जुन हालको कार्यसमिति बैठकबाट पाससमेत भएको उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।
खेलाडी संघले यसअघि पटक-पटक वार्ता तथा सडक संघर्षका बाबजुद पनि आफूहरूका मागहरू एन्फाले बेवास्ता गरेका कारण एन्फा मुख्यालयमा तालाबन्दी गर्नुपरेको बताएको थियो । सोमबार एन्फाले विज्ञप्ति जारी गर्दै खेलाडी संघले लगाएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।




















