मोरङ । मोरङ क्षेत्र नं. ३ का नेपाली कांग्रेसका उम्मेदवार सुनिल कुमार शर्मा निर्वाचनमा पराजय भएपश्चात उनले सञ्चालन गर्दै आएका अस्पतालहरूमा निशुल्क उपचार रोकिएको भन्ने हल्ला बजारमा फैलिएको छ ।तर सो हल्लाप्रति स्पष्टिकरण दिँदै शर्माले त्यो सत्य नभएको बताउँदै भ्रम नछर्न र भ्रममा नपर्न आग्रह पनि गरेका छन् ।
शर्माले फेसबुकमार्फत जारी गरेको सूचना अनुसार, उनको नोबेल मेडिकल कलेज विराटनगर र काठमाडौं मेडिकल कलेज सिनामंगल मार्फत विगतदेखि आर्थिक अवस्था कमजोर नागरिकहरूलाई प्राथमिकतामा राखेर निःशुल्क वा छुटमा गर्दै आएको उपचार तथा स्वास्थ्य सेवा जारी रहेको छ।
शर्माले चुनावमा हार वा जित हुनु र सामाजिक सेवा बीच कुनै सम्बन्ध नरहेको बताउँदै नागरिकको आवश्यकता र आर्थिक अवस्थालाई ध्यानमा राखेर निशुल्क उपचार सेवा प्रदान गर्ने प्रतिबद्धता सदैव निरन्तर रहँदै आएको र आगामी दिनहरूमा पनि यही प्रक्रिया जारी रहने स्पष्ट पारेका छन् ।
शर्माले सबैलाई आधिकारिक सूचना र प्रक्रिया मार्फत मात्र संस्थासँग सम्पर्क गर्न आग्रह गर्दै हल्ला तथा भ्रममा नपर्न अनुरोध गरेका छन्। उनले विगत जस्तै सबै सम्वन्धित वार्ड र जिल्लामा निःशुल्क स्वास्थ्य सेवा निरन्तर रूपमा उपलब्ध गराइँदै आएको र गरिहने जानकारी दिएका छन् ।



















