काठमाण्डाै । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले यस पटककाे हाेली पर्व घरभित्र मनाउन आग्रह गरेकाे छ । प्रशासन कार्यालयले सूचना निकालेर होली मनाउँदा शान्ति सुरक्षा र फागुन २१ गते हुने चुनावलाई ध्यानमा राख्न आग्रह गर्दै सार्वजनिक ठाउँमा भीडभाड नगर्न आग्रह गरेकाे छ ।
धार्मिक तथा सांस्कृतिक रूपमा आ–आफ्नो घर परिसरभित्र परिवारजन र साथीभाइसँग होली मनाउन बाधा नपर्ने बताउँदै प्रशासनले खुला सडक र सार्वजनिक ठाउँमा अनावश्यक भीड जम्मा नगर्न, जाँड–रक्सी बिक्री/वितरण नगर्न अनुरोध गरेको छ ।
प्रशासनले चुनावलाई लक्षित गर्दै लागू भएको निर्वाचन आचारसंहिताको कार्यान्वयनमा जोड दिएको छ । सूचनामा जुलुस, आमसभा वा प्रचारप्रसारमा उम्मेदवारको चुनाव चिह्न, झण्डा, स्टिकर अङ्कित टोपी, टी–शर्ट, ज्याकेट, झोला वा अन्य सामग्री प्रयोग गर्न नपाइने उल्लेख छ ।
होलीमा कसैको इच्छा विपरीत रङ्ग वा पानी हाल्ने, जाँड–रक्सी खाएर सार्वजनिक मर्यादा भङ्ग गर्ने, होहल्ला तथा अराजक गतिविधि गर्ने काम कानून विपरीत हुने प्रशासनले भनेको छ ।
यस वर्षको होली काठमाण्डौलगायत पहाडी जिल्लाहरूमा फागुन १८ र तराई–मधेशका जिल्लाहरूमा फागुन १९ गते परेको छ ।




















