दोधारा चाँदनी (कञ्चनपुर) । जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि बाढीबाट प्रभावित हुँदै आएको कुतियाकवर सुरक्षित बनेको छ । वर्षौंदेखि बाढीको समस्या झेल्दै आएको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरस्थित जोगबुढा नदीमा ८०० मिटर लामो तटबन्ध निर्मण भएपछि बस्तीमा बाढीको त्रास हटेको छ ।
पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर हरेक वर्ष जोगबुढा नदी र महाकाली नदीको बाढीबाट प्रभावित हुँदै आएको थियो । वर्षायाममा डुबानबाट विस्थापित हुने यहाँका स्थानीयले जोगबुढा नदीमा तटबन्ध निर्माणपछि सुरक्षित महसुस गरेका छन । गत आर्थिक वर्षमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले जोगबुढा नदीमा ८१६ मिटर लामो तटबन्ध निर्माण गरेपछि बस्ती सुरक्षित बनेको यहाँका स्थानीय बताउँछन् ।
यहाँका स्थानीय खडक बुढाले यहाँ तटबन्ध निर्माणपछि बस्ती नै सुरक्षित बनेको बताए । “विगतमा नदीको कटानले यहाँको बिघौँ जग्गा महाकाली नदीमा समाहित भइसकेको छ”, बुढाले भने, “वर्षायाममा बाढीको डरले यहाँबाट दोधारा बसाइसथ्र्यौं अब तटबन्ध बनेपछि हामीलाई ठूलो राहत भएको छ ।”
उनले यस पटक नदीमा तटबन्ध बनेपछि वर्षौंदेखि झेल्दै आएको बाढीको पीडाबाट मुक्ति पाइने बताए । “महाकाली नदीमा करिब ४०० मिटर तटबन्ध बन्न बाँकी छ”, उनले भने, “उक्त स्थानमा पनि तटबन्ध बने यहाँको डुबान र कटानको समस्याबाट मुक्ति पाइन्छ ।”
दोधारा चाँदनी नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि कुतियाकवर बस्ती सुरक्षित बनेको जानकारी दिए । “तटबन्ध निर्माणले बस्ती सुरक्षित भएको छ,यहाँका स्थानीयलाई बाढी र डुवानको त्रास हटेको छ ।” वडा अध्यक्ष सिंहले भने, “जोगबुढामा अन्य स्थानमा पनि तटबन्ध निर्माण हुँदैछ यसले यहाँको बाढीको समस्या हट्नेछ ।” उनका अनुसार विगतमा यो बस्ती बाढीबाट सबैभन्दा बढी प्रभावित हुँदै आएको थियो । उक्त बस्तीमा नेपाली सेनाले पनि सेफ हाउस निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । विसं २०२२ सालदेखि बसोबास रहेको यो बस्तीमा डेढ सय परिवारको बसोबार रहेको थियो । महाकाली र जोगबुढा नदी बस्ती पस्न थालेपछि यहाँबाट १०० घरपरिवार विस्थापित भएका छन् । तटबन्ध निर्माणपछि पलायन रोकिए अपेक्षा स्थानीयको छ ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले कुतियाकवरस्थित जोगबुढा नदीमा तटबन्ध निर्माणका लागि गत चैत २५ मा रु पाँच करोड १६ लाख ६७ हजारमा शंकर कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार ८१६ मिटर लामो तटबन्ध २०८२ चैत २५ भित्र सम्पन्न गरिसक्नुपर्ने थियो ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना महेन्द्रनगरका प्रमुख रञ्जनराज भट्टराईले उक्त स्थानमा तटबन्ध निर्माणपछि बस्ती सुरक्षित बनेको जानकारी दिए । उनले आयोजना कार्यालयबाट कञ्चनपुरमा महाकाली नदी, जोगबुढा, दोदा नदी र कैलालीको मोहना कुटिया लगायत विभिन्न नदी नियन्त्रणका काम भइरहेको बताए । “गत आर्थिक वर्षमा ठेक्का सम्झौता भएको योजनाहरुको काम अन्तिम चरणमा छ”, उनले भने, “यहाँका स्थानीयबाट नदी नियन्त्रणको माग धेरै आउँछ आयोजनासँग बजेट अभाव छ ।” गत आवमा स्रोत सहमति लिएर ठेक्का सम्झौता भएका काम सम्पन्न गर्न करिब रु १० करोड बजेट अपुग देखिएको छ । उक्त बजेट थपका लागि आयोजना कार्यालयले प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।
दोधारा चाँदनी सुक्खा बन्दरगाहस्थल महाकाली नदी छेउ छ लेनको पक्की सडक निर्माण भएको छ । महाकाली नदीमा बनेका तटबन्ध कमजोर भएकाले मर्मतसम्भार गर्नुपर्ने भए पनि आयोजनासँग बजेट अभाव हुँदा मर्मत हुन सकेको छैन । (रासस)




















