काठमाडौं । केन्द्रिय सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षालाई थप सुदृढ र प्रभावकारी बनाउने निर्णय गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको संयोजकत्वमा शनिवार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । उनका अनुसार निर्वाचन प्रयोजनका लागि तयार पारिएको एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार सबै सुरक्षा निकायहरूले काम गरिरहेको र सोहीअनुसार कर्मचारी परिचालन तथा व्यवस्थापन भइरहेको ब्रिफिङ सुरक्षा निकायका प्रमुखहरूले बैठकमा गरेका थिए । बैठकले आगामी दिनमा पनि सुरक्षा व्यवस्था चुस्त राख्ने सहमति भएको उनले जानकारी दिए ।
उनले बैठकमा निर्वाचन अभियानका क्रममा विभिन्न स्थानमा राजनीतिक दलहरुबीच देखिएका विवाद र घटनाहरुको समिक्षा गरिएको जानकारी दिँदै गैरकानूनी कार्यमा संलग्न जोसुकैलाई कानूनी दायरामा ल्याउने निर्णय पनि भएको छ । सबै राजनीतिक दलहरुलाई नर्वाचन आचारसंहिताको पालना गर्न समेत बठकले आग्रह गरेको बताए । यस्तै, बैठकले रौतहटमा भएको घटनाको सन्दर्भमा सबै पक्षलाई आपसी सद्भाव कायम गर्न आह्वान गरेको छ । साथै रौतहटको समग्र सुरक्षा व्यवस्था सुदृढ बनाउन सम्बन्धित सबै सुरक्षा संयन्त्रलाई आवश्यक निर्देशन दिइएको समेत काफ्लेले जानकारी दिए ।
देशभर सुरक्षा संवेदनशीलताका आधारमा जनशक्ति परिचालन गर्नेगरी सुरक्षा निकायहरुबीच सहमति भएको समेत प्रवक्ता काफ्लेले जानकारी दिए ।


















