काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार समूह चरणको एउटा अन्तिम खेल हुँदैछ । समूह चरण अन्तर्गत अन्तिम खेलमा समूह ‘बी’बाट बाहिरिसकेका विश्व विजेता अस्ट्रेलिया र ओमान भिड्दैछन् ।
ओमान र अस्ट्रेलियाको खेल शुक्रबार साँझ ७ बजेर १५ मिनेटमा सुरु हुँदैछ । यो खेल श्रीलंकाको पालिखेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
समूह चरणका दुई खेल गुमाएको अस्ट्रेलिया र तीन खेल गुमाएको ओमानको खेल प्रतिष्ठाको लडाइँका रुपमा रहेका छन् । विश्वकपमा आयरलाइन्डलाई ६७ रनले हराउँदै विजयी सुरुवात गरेको अस्ट्रेलियाले त्यसपछि जिम्बाबेसँग २३ रन र श्रीलंकासँग ८ विकेटको हारको सामना गरेको छ । समूह चरणबाटै बाहिरिनु अस्ट्रेलियाका लागि यो विश्वकप दुःखद् बनेको छ ।
ओमानले भने अहिलेसम्म खाता खोल्न सकेको छैन । पहिलो खेलमा जिम्बाबेसँग आठ विकेटले पराजित भएको ओमान दोस्रो खेलमा श्रीलंकासँग १०५ रन र तेस्रो खेलमा आयरलाइन्डसँग ९६ रनले चुकेको हो । समूह चरणको यो अन्तिम खेल हो ।




















