काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत बुधबार तीन खेल हुँदैछन्। समूह ‘डी’को एउटा खेल हुँदैछ भने समूह ‘ए’का दुई खेल हुँदैछन्।
पहिलो खेलमा समूह ‘डी’का दक्षिण अफ्रिका र यूएईले प्रतिस्पर्धा गर्दैछन्। यो खेल नेपाली समय अनुसार बिहान ११ बजेर १५ मिनेटमा भारतको नयाँदिल्लीमा हुँदैछ। दक्षिण अफ्रिका तीन खेलमा तीन जित दर्ता गर्दै सुपर आठ प्रवेश गरिसकेको छ भने यूएई दोस्रो जितको खोजीमा छ।
दोस्रो खेलमा समूह ‘ए’का पाकिस्तान र नामिबिया भिड्दैछन्। यो खेल दिउँसो ३ बजेर १५ मिनेट जाँदा सुरु हुनेछ। विश्वकपको सुपर आठमा प्रवेशका लागि पाकिस्तानमाथि यो खेल जित्नै पर्ने दबाब छ। यो समूहबाट भारत ६ अंकसहित सुपर आठ प्रवेश गरिसकेको छ भने पाकिस्तान र अमेरिका समान चारचार अंक बनाएर सुपर आठको प्रतिस्पर्धामा छन्। समान अंक भए पनि पाकिस्तान रनरेटका आधारमा पछाडि रहेकाले अघिल्लो चरण प्रवेशका लागि नामिबियाविरुद्धको खेल जित्नुपर्ने दबाब छ। यो खेल श्रीलंकाको कोलम्बुमा हुँदैछ।
बुधबारको अन्तिम खेलमा समूह ‘ए’कै भारत र नेदरल्यान्ड्स भिड्दैछन्। यो खेल साँझ ७ बजेर १५ मिनेट जाँदा भारतको अहमेवादमा सुरु हुनेछ। भारत तीन खेलमा तीन जित निकाल्दै अघिल्लो चरण प्रवेश गरिसकेको छ भने नेदरल्यान्ड्स तीन खेलमा एक जित निकालेर तालिकाको चौथो स्थानमा छ। अघिल्लो चरण गइसकेको भारत आजको खेलमा जित निकाल्दै समूह विजेता बन्न चाहन्छ।




















