काठमाडौँ । रामेछापमा आज बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ। घटनास्थलमा उद्धार कार्य निरन्तर जारी छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर राजन अधिकारीका अनुसार हालसम्म १७ जनाको उद्धार गरी अस्पताल पठाइएको छ। “अहिले पनि गोताखोर पानीभित्र पसेर यात्रु खोजिरहेका छन्,” उनले बताए।
घटनामा केही यात्रु गम्भीर र केही सामान्य घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ। यात्रुको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस खुर्कोट, सिन्धुलीबाट १० जना गोताखोर परिचालन गरिएको छ।
मंगलबार बिहान काठमाडौँबाट ओखलढुंगाका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस रामेछापको मन्थली नगरपालिका–६ त्रिवेणी घाट नजिक सडकबाट करिब २० मिटर तल तामाकोसी नदीमा खसेको हो।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकमा २ जना पुरुष र ४ जना महिला रहेका छन्। उनीहरूको नाम खुल्न बाँकी छ।
बसमा कति जना यात्रु सवार थिए भन्ने यकिन भइसकेको छैन। प्रारम्भिक रूपमा प्रहरीले १३ जना यात्रु रहेको बताएको थियो। तर हालसम्म १७ जनाको उद्धार भइसकेकाले बसमा यात्रुको संख्या सुरुमा अनुमान गरिएभन्दा बढी हुनसक्ने देखिएको छ।
काठमाडौँबाट रामेछाप हुँदै ओखलढुंगा जाँदै गरेको अरनिको यातायातको उक्त बस सिन्धुलीको खुर्कोटबाट करिब तीन किलोमिटर अगाडि रामेछापको मन्थलीतर्फको सडकखण्डबाट तामाकोसी नदीमा खसेको हो।
प्रहरीका अनुसार बस मन्थली, धोबी, सिरिसे हुँदै ओखलढुंगाको पोल्थलीतर्फ जाँदै थियो। खुर्कोट–मन्थली सडकखण्डको लिलौती पहराबाट बस नदीमा खसेर दुर्घटना भएको हो।




















