हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै मकवानपुरमा सुरक्षा तयारी तीव्र पारिएको छ। निर्वाचनलाई शान्तिपूर्ण बनाउन जिल्ला प्रशासन कार्यालयले गरेको आह्वानपछि हालसम्म १५ जनाले आफ्ना इजाजत प्राप्त निजी हातहतियार प्रहरीलाई बुझाएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जिल्लाभर कुल ६० जनाले हतियार राख्ने अनुमति लिएकोमा बाँकीलाई पनि चाँडै बुझाउन ताकेता गरिएको छ। निर्वाचन सकिएपछि चैत २० गते ती हतियार सम्बन्धित धनीलाई नै फिर्ता गरिनेछ। तोकिएको समयमा हतियार नबुझाउनेलाई कानुन बमोजिम कारबाही गरिने प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले चेतावनी दिएका छन्।
निर्वाचन सुरक्षाकै लागि मकवानपुरमा १ हजार ९२३ निर्वाचन प्रहरी परिचालन गर्ने तयारी छ, जसको भर्ना र तालिम अन्तिम चरणमा पुगेको छ। जिल्ला सुरक्षा समितिले सुरक्षा चुनौतीका आधारमा १६७ मध्ये १९ मतदानस्थललाई ‘अति संवेदनशील’ सूचीमा राखेको छ। विशेष गरी राक्सिराङ्ग, बकैया र बागमती गाउँपालिकाका केही क्षेत्रलाई सुरक्षाको दृष्टिकोणले बढी निगरानीमा राखिएको छ। यस्तै, ६० मतदानस्थल ‘संवेदनशील’ र ८८ वटा सामान्य सूचीमा रहेका छन्।
यसपटक मकवानपुरमा मतदाताको सङ्ख्या बढेसँगै सातवटा मतदान केन्द्र थपिएका छन्। दुईवटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कुल ३ लाख १५ हजार ३३४ मतदाता छन्। प्रदेश निर्वाचन कार्यालय हेटौँडाका अनुसार निर्वाचनका लागि ३७४ मतदान केन्द्र तोकिएको छ र आवश्यक व्यवस्थापनका कामहरू धमाधम भइरहेका छन्। (रासस)




















