काठमाडौँ । प्रहरीले गत भदौ २४ गत जेनजी युवाहरूको प्रदर्शनका क्रममा सिङ्हदरबारमा आगजनी गरेको बताउने र आगजनी गर्न उक्साएको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा चितवन खैरहनी नगरपालिका–९ घर भई हाल काठमाडौँ महानगरपालिका–२९ अनामनगर बस्ने ३६ वर्षीय महेन्द्र गौतम रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
उनले भने, “भदौ २४ गते प्रदर्शनका क्रममा सिंहदरबार आगजनी गरेको बताउने र अन्य व्यक्तिलाई समेत आगजनी गर्न उक्साउने, भीडलाई उत्तेजित बनाउने अभिव्यक्ति दिने अपराधमा संलग्न निज महेन्द्र गौतमलाई पक्राउ गरिएको हो ।”
पक्राउ परेका निज गौतमविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने कसुरमा आज पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता भट्टराईले बताए । (रासस)




















