रौतहट । चार बर्षिया बालिकालाई ठक्कर दिएर अस्पताल पुर्याई फरार रहेका कार चालक पक्राउ परेको छ ।
प्रहरीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरले घरदैलोका लागि प्रयोग गर्दै आएको कार चालक रौतहटको परोहा नगरपालिका वडा नं ३ तेजापाकड निवासी २७ वर्षीय शेख मुस्ताकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिएका छन् ।
दुर्घटना भएको उक्त सवारीसाधन राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरले घरदैलो कार्यक्रममा प्रयोग गर्दै आएको रौतहट प्रहरीले जनाएको । घटना हुँदा उम्मेदवार शेख सगिर भने गाउँमा पैदल घरदैलो कार्यक्रममा रहेको प्रारम्भिक जानकारी प्राप्त भएको भएको छ। दुर्घटनाको समयमा चालक गाडीमा एक्लै रहेको बताइएको छ।
बिहीबार घर नजिकै खेलिरहेको अवस्थामा बा १५ च ४२४४ नम्बरको कारले ठक्कर दिदा रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं ४ मठिया टोलस्थित मस्जिद नजिक सवारी दुर्घटनामा परी ईशनाथ वडा नं ४ बस्ने मोहम्मद सगिरकी ४ वर्षीया छोरी अल्फा खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
दुर्घटनापछि घाइते बालिकालाई अस्पताल पुर्याएर कार चालक शेख मुस्ताक फरार भएको थियो भने प्रहरीले खोजी कार्य जारी राखेको थियो ।



















