विराटनगर । मोरङको रंगेली नगरपालिका–५ बहुवनमा मंगलबार बिहान एक युवकले ससुराली घरमै पुगेर पत्नीको हत्या गरेको घटनापछि आफ्नै ज्यान लिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रंगेली–५ बहुवन निवासी २१ वर्षीय मुकेशकुमार मण्डलले धनपट्टीस्थित ससुराली पुगेपछि पत्नी अम्बिकाकुमारी मण्डलको हत्या गरेका हुन्। घटनापछि उनले आत्महत्या गरेको अवस्थामा शव फेला परेको छ।
मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेका अनुसार मुकेश सोमबार साँझ ससुराली पुगेका थिए। मंगलबार बिहान करिब २ बजेतिर श्रीमान–श्रीमतीबीच भएको सामान्य घरेलु विवाद उग्र बनेपछि उनले चक्कु प्रहार गरी पत्नीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
चक्कुको गहिरो चोटका कारण अम्बिकाकुमारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। पत्नीको हत्या गरेपछि मुकेशले सोही चक्कु प्रयोग गरी आफ्नै घाँटी रेटेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।
घटनाको जानकारी पाएपछि मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। प्रहरीले घटनास्थलको मुचुल्का उठाउने कार्य गरिरहेको र दुवै शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको डीएसपी लामिछानेले जानकारी दिए।
पारिवारिक विवादको वास्तविक कारण र घटनाको अन्य पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















