काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा-आराधना गरी देशभर श्रद्धा र भक्तिपूर्वक मनाइने पर्व आज वसन्त पञ्चमीका रूपमा मनाइँदै छ । सूर्य उत्तरायण लागि दिन लम्बिँदै जाने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका कारण यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । वसन्त पञ्चमीका दिन देवी सरस्वतीको पूजा गरे विद्या, बुद्धि, विवेक र सिर्जनात्मक क्षमता बढ्ने शास्त्रीय मान्यता रहेको छ । यही विश्वासका साथ आज देशभरका सरस्वती मन्दिरहरूमा बिहानैदेखि श्रद्धालुहरूको भिड लागेको छ ।
विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकार तथा संगीतकर्मीहरू आ-आफ्ना कला-साधनाका सामग्री-कलम, कापी, पुस्तक, कुची, वाद्ययन्त्र आदिलाई देवी सरस्वतीको प्रतीक मानी पूजा-आराधना गर्ने परम्परा छ । यसै दिनदेखि विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन पनि रहेको छ । बालबालिकाको हातमा पहिलोपटक अक्षर लेखाइने भएकाले यो दिनलाई शिक्षा जीवनको शुभारम्भको प्रतीकका रूपमा लिने गरिन्छ ।
काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत देशका विभिन्न जिल्लामा रहेका सरस्वती मन्दिरहरूमा आज भक्तजन, विशेषगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । काठमाडौंको हनुमानढोकास्थित नासलचोकमा आज पुरोहितद्वारा विधिपूर्वक कथा वाचन गरी ‘वसन्त श्रवण’ गर्ने परम्परा पनि रहेको छ ।
मन्दिर, पाठशाला तथा घरघरमै सरस्वतीको पूजा–आराधना गर्नाले विद्या प्राप्ति हुने विश्वास गरिन्छ । शास्त्रअनुसार सरस्वती पूजाका दिन कुनै पनि प्रकारका साइत वा मुहूर्त हेर्नु नपर्ने र यस दिन गरिएका हरेक शुभ कर्म सिद्ध हुने उल्लेख गरिएको छ ।
चन्द्रमाजस्तै गोरो वर्ण, हातमा वीणा र पुस्तक धारण गर्नुभएकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, भुवनेश्वरीलगायत अनेक नामले पुकार्ने गर्दछन् । तान्त्रिक परम्परामा भने देवी सरस्वतीलाई तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्ने चलन छ ।
धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार ‘सरस्वती कवच’ मन्त्रबाट व्यास, वाल्मीकि, याज्ञवल्क्य, कणाद, पाणिनी, शंकराचार्यदेखि सन्त तुलसीदाससम्मले विद्या र सिद्धि प्राप्त गरेको कथन पाइन्छ ।
यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँले वसन्त श्रवण र सरस्वती पूजा केवल औपचारिक कर्मकाण्ड मात्र नभई जीवनलाई ऊर्जाशील बनाउँदै नवीन सोच, खोज र सिर्जनातर्फ प्रेरित गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले वसन्त ऋतुको प्रारम्भसँगै दिन लामो र रात छोटो हुँदै जाने प्राकृतिक परिवर्तनले यो पर्वले नेपाली जनजीवन र प्रकृतिबीचको गहिरो सम्बन्ध झल्काउने बताउनुभएको छ । साथै, आजको दिनले विद्या, ज्ञान र बौद्धिक परिपूर्तिप्रति सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।




















