काठमाडौं । भारतको हिमाचल प्रदेशको सोलान जिल्लामा ग्यास सिलिन्डर विस्फोट भई भएको आगलागीमा ९ जना नेपालीको ज्यान गएको छ। मृतक सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिकाका स्थायी बासिन्दा रहेको पुष्टि भएको छ ।
सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवार करिब दुई वर्षदेखि भारतमा मजदुरी गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीका अनुसार आइतबार राति करिब २ बजे उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा भीषण आगलागी भएको हो। आगो अत्यन्त तीव्र भएकाले ज्यान जोगाउन नसकेको उनको भनाइ छ।
मृत्यु हुनेमा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, छोरीहरू राधा (१६) र रेणुका (१०) तथा २२ महिनाका छोरा राजन विक रहेका छन्। साथै सोही गाउँका ४६ वर्षीय काशीराम विक, उनकी श्रीमती ३२ वर्षीया टीका विक, छोरी अनु (११) र छोरा किरण (७) को पनि मृत्यु भएको छ।
प्रहरी नायब उपरीक्षक केसीका अनुसार विस्फोटपछिको आगलागीका कारण शवहरू क्षतविक्षत भएका थिए। हालसम्म पाँच जनाको शव फेला परेको छ भने बाँकीको खोजी कार्य जारी छ। घटनास्थलमा भारतीय स्थानीय प्रशासन र सुरक्षाकर्मीले उद्धार तथा अनुसन्धान गरिरहेका छन्।
एकै गाउँका नौ जनाको एकैपटक मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका शोकमा डुबेको वडा नम्बर २ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीले जानकारी दिए। उनका अनुसार उनीहरूको मृत्यु २७ गते नै आगलागीमा परेर भए पनि ठेगाना पहिचान हुन ढिलाइ भएको थियो। ९ जनाको निधनको शोकमा वडा नम्बर २ भित्र पर्ने वडा कार्यालय, सामुदायिक विद्यालय तथा सरकारी कार्यालयहरूमा आज शोक विदा दिइएको छ।

















